शिक्षामा निजी क्षेत्रको लगानीको ग्यारेन्टी गर्न मेरो उम्मेदवारी उप-महासचिवमा, भुबनलाल श्रेष्ठ

शिक्षामा निजी क्षेत्रको लगानीको ग्यारेन्टी गर्न मेरो उम्मेदवारी उप-महासचिवमा, भुबनलाल श्रेष्ठ
कर्पोरेट पत्रिका आइतबार, चैत ६, २०७८

बिगत २४ बर्ष देखि शिक्षा क्षेत्रमा आबद्ध रहनु भएका भुबनलाल श्रेष्ठले भक्तपुर प्याब्सनमा एक कार्यकाल सदस्य, एक कार्यकाल सचिव हुँदै २ कार्यकाल अध्यक्षको रुपमा आफ्नो भूमिका निभाइसक्नु भएको छ र हाल भक्तपुर प्याब्सनको वरिष्ठ सल्लाहकार हुनुहुन्छ । प्याब्सनको केन्द्रिय कार्य समितिमा पनि सचिवको रुपमा योगदान दिनुभएका श्रेष्ठ हाल उप-महासचिवको उम्मेदवार हुनुहुन्छ ।

शिक्षाविद्, समाजसेवी, बौद्धिक व्यक्तित्व तथा मेरिगोल्ड ईंग्लिश बोर्डिङ स्कुलका संस्थापक प्रिन्सिपल भुबनलाल श्रेष्ठ हाल आधा दर्जन भन्दा बढी संस्थाहरुमा आबद्ध हुनुहुन्छ ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन, नेपाल (प्याब्सन) को १५औं राष्ट्रिय महाधिवेशन आगामी चैत ९ र १० गते काठमाडौंमा हुँदैछ । महाधिवेशनले तीन वर्षे कार्यकालका लागि २७ जना पदाधिकारीहरू र ३९ जना सदस्य सहित ६६ जनाको कार्यसमिति चयन गर्नेछ । प्याब्सन महाधिवेशनका सन्दर्भमा भुबनलाल श्रेष्ठसँगको कुराकानीका केहि सम्पादित अंशः

प्याब्सनको १५ औँ राष्ट्रिय महाधिवेशनमा तपाइको उम्मेदवारी कुन पदका लागि र किन ?

राज्यसँग नितीगत सवालमा बोल्नका लागि र बन्दै गरेको शिक्षा ऐनमा हाम्रा मुद्दाहरू सम्बोधन गराउनका लागि अब प्याब्सन  जोडतोडका साथ लाग्ने समय आएको छ । कोभिड १९ का कारणले केही समयदेखि हाम्रा गतिविधिहरूमा कमी देखिएको यथार्थ हो । अब ढिला नगरी हाम्रा मुद्धाहरूलाई योजनाबद्ध रूपमा उठान गर्न जरुरी छ । यसमा विद्यालय शिक्षालाई मात्र हेरेर हुँदैन समग्र देशकै शिक्षालाई परिवर्तन गर्न र समय सापेक्ष बनाउन आवश्यक छ ।

शिक्षामा निजी क्षेत्रको लगानीको ग्यारेन्टी र सम्बर्धनका साथै शैक्षिक उन्नयन, पाठ्यक्रम, परीक्षा व्यवस्थापन, नीतिगत कुराहरूमा सशक्त रुपमा अगाडि बढ्नुको विकल्प छैन ।  त्यसका लागि मेरो उम्मेदवारी उप-महासचिवमा हो ।

संगठनका चुनौतीहरु के के देख्नु हुन्छ?

कोरोनाको कारणले गर्दा कतिपय स्कुलहरु बन्द हुने अवस्थामा छन । आर्थिक रुपमा तहस नहस भएको अवस्था छ । विद्यालय संचालक, शिक्षक कर्मचारीको बेहाल हुन पुगेको छ । सरकारको निती नियमले गर्दा पनि गार्हो अप्थ्यारो परिरहेको छ । नेपालको पछिल्लो शैक्षिक अवस्थालाई हेर्ने हो भने एक प्रकारको अव्यवस्थित र लथालिङ्ग जस्तै देखिएको छ । अहिले शिक्षाका विभिन्न विषयहरूलाई गम्भीर रूपमा लिएर छलफल गरी नीतिगत तहदेखि नै सुधार गर्नुपर्ने आवश्यकता छ ।

अन्त्यमा केही भन्न चाहनु हुन्छ?

मैले बिगत २०/ २२ बर्ष देखि महाधिवेशन प्रतिनिधि, जिल्ला सदस्य तथा जिल्ला सचिव हुँदै २ कार्यकाल अध्यक्ष  भएर काम गरेको छु । म भक्तपुर प्याब्सनको अध्यक्ष हुँदा, मैले नै शिलान्यास गरी भक्तपुर प्याब्सनको भवन निर्माण कार्य कार्य गरेको थिए । त्यस्तै २ कार्यकाल प्याब्सन केन्द्रमा पनि सचिव भएर काम गरेको छु ।  हाल मैले उप-महासचिवमा उम्मेदवारी दिएको छु त्यसैले सम्पूर्ण जिल्लाका साथीहरुलाई, प्रतिनिधिहरुलाई  मलाई यहाँहरुको अमुल्य भोट दिएर सहयोग गर्न अनुरोध गर्न चाहन्छु ।