भक्तपुर प्याब्सनको अर्को नयाँ कार्यक्रम – “प्याब्सन स्कुल प्रिन्स एण्ड प्रिन्सेस २०२२” हुने

भक्तपुर प्याब्सनको अर्को नयाँ कार्यक्रम – “प्याब्सन स्कुल प्रिन्स एण्ड प्रिन्सेस २०२२” हुने
कर्पोरेट पत्रिका मंगलबार, भदौ २१, २०७९

भक्तपुर /२१ भदौ - प्याब्सन जिल्ला कार्यसमिति, भक्तपुरको आयोजना तथा अनुजा मिडियाको सहआयोजना एवम् व्यवस्थापनमा प्याब्सन स्कुल प्रिन्स एण्ड प्रिन्सेस (School Prince and Princess 2022) कार्यक्रम हुने भएको छ । आज प्याब्सन कार्यालयमा आयोजित कार्यक्रममा जिल्ला अध्यक्ष सुरेन्द्र श्रेष्ठ र अनुजा मिडियाकी अध्यक्ष अनुजा आचार्यले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो ।

अध्यक्ष श्रेष्ठले विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन र व्यक्तित्व तथा नेतृत्व विकास सम्बन्धी विभिन्न कार्यक्रम गर्ने सिलसिलामा ‘स्कुल प्रिन्स एण्ड प्रिन्सेस’ को आयोजना गर्न लागिएको र यस्ता कार्यक्रमले विद्यार्थीहरुको जीवनमा सकारात्मक तवरले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्याब्सन भक्तपुरका वरिष्ठ उपाध्यक्ष राजन कसपालले प्रतियोगिता ७-११ वर्ष तथा १२-१६ बर्ष गरी दुईवटा क्याटेगोरीमा सन्चालन गरिने र बिद्यालयमा अध्ययनरत विद्यार्थीले सहभागिता जनाउने जानकारी गराउनुभयो । कार्यक्रममा प्याब्सन भक्तपुरका सचिव विजय कर्माचार्य, सूनपा प्याब्सन अध्यक्ष दिनेश मैनाली लगायतले आफ्ना भनाईहरू राख्नुभएको थियो ।

कार्यक्रम असोज २७ गतेदेखि सञ्चालन हुनेछ । प्रतियोगितामा जिल्लाका १०० जना विद्यार्थीहरूले पहिले नाम दर्ता गर्ने प्राथमिकता क्रमका आधारमा सहभागिता जनाउने छन् । प्रतियोगीहरुलाई व्यक्तित्व विकास, स्टेज पर्फर्मेन्स तथा र्याम्प वाक, पब्लिक स्पिकिङ, मोटिभेसन, फोटो-शुट लगायतका अन्य शीर्षकमा कम्तिमा २ हप्ता लामो तालिम प्रदान गरिनेछ । त्यसपछी विद्यार्थीहरुलाई अन्तिम प्रतिस्पर्धाको लागि स्टेजमा उतारिनेछ । बिजेताहरुले नगद ५० हजार सहित आकर्षक गिफ्ट ह्यम्परको साथमा सम्बन्धित बिद्यालय बाट ३ महिनाको स्कलर्शिप लगायत अन्य पुरस्कारहरु हात पार्नेछन । प्रतियोगितामा रहेक सहभागीलाई उनीहरुमा भएको क्षमता तथा प्रतिभा पहिचान गरी त्यही अनुसार उपाधिसहित सम्मान गरिनेछ ।